Social and Commercial Information Page of Nepal

Upload Your Information

भाषाको दाउ

काठमाडौँ — प्रधानमन्त्रीका सल्लाहकारले केही दिनअघि सामाजिक सञ्जालमा ‘छौंडा’ शब्द प्रयोग गरे । बोक्सीद्वारा तालिम दिइएको पोथी बिरालो भन्ने अर्थ बोकेको यो शब्द प्रयोगले ‘बोक्सी’ को अस्तित्व र मान्यतालाई आत्मसात मात्र गरेन, यसलाई स्थापित गर्न पनि बल प्रदान गर्‍यो ।

यसमा उनको ठूलै आलोचना भयो । यो प्रकरण हुनुभन्दा केही अघिमात्रै एक राष्ट्रिय सङ्गीत सर्जकको सिर्जनालाई लिएर जातीय विभेद जनाउने टिप्पणी भएको थियो । त्यसमाथि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा भारी आलोचना रप्रतिकार पनि भयो ।
मानव सभ्यताको इतिहासमा भाषा महत्त्वपूर्ण तत्त्व हो । शासकहरूले भाषालाई आफ्नो प्रभुत्व कायम राख्न राजनीतिक रूपमा प्रयोग गरेका प्रमाणहरू प्रशस्त छन् । सहज शासनका लागि एक भाषालाई प्रबर्द्धन गर्ने क्रममा मातृभाषा र अल्पसंख्यकका भाषा लोप हुनेमात्र होइन, यससँग जोडिएर आउने संस्कार र संस्कृतिहरू पनि विलिन हुने सम्भावना रहन्छ । भाषाले मानिसहरूलाई एकजुट बनाउन सक्छ भने वर्गीकृत गर्ने सामर्थ्य पनि राख्छ । एउटै भाषामा पनि लवज र शब्द चयनका आधारमा सामाजिक वर्ग निर्धारण गर्ने अभ्यास बेलायतमा मात्र होइन, नेपालमा पनि विद्यमान छ ।
भाषाको आलंकारिक प्रयोग हुन्छ । अन्य भाषामा जस्तै नेपालीमा पनि विभिन्न उखान, टुक्का, अलंकार र भनाइ छन् । भाषाका यी पक्षहरू समाज, राजनीति, अर्थतन्त्र र मानिसहरू बीचको अन्तर–सम्बन्धबाट प्रभावित हुन्छन् । भाषाले सामाजिक मानवीय सम्बन्धलाईप्रस्फुटित पनि गर्छ ।
नेपाली समाजमा हामीले जान–अन्जान प्रयोग गर्ने, बोल्ने, सुन्ने, रमाइलो गर्ने, खिसी गर्ने एउटा अभ्यास व्यक्तिको जात वा बसोबास क्षेत्रका आधारमा गरिने टिप्पणी हो । जस्तै– ‘यो त कस्तो, फलानो जात/समुदायको जस्तो, कस्तो फोहोरी’, ‘यो त कस्तो फलानो ठाउँको जस्तो’ । यस्ता अनगिन्ती तुलना र टिप्पणी हाम्रो समाजमा विद्यमान छन् । यस्ता प्रवृत्तिलाई सांस्कृतिक प्रभुत्व कायम गर्न शक्तिशाली वर्ग वा समूहले कमजोरमाथि दोहन गर्ने चरित्रका रूपमा लिन सकिन्छ ।
लैङ्गिक आधारमा होच्याउने उखान–टुक्का र शब्दावलीहरू पनि हाम्रो समाजमा प्रशस्त प्रयोगमा छन् । झैझगडा पर्दा ‘मैले चुरा लगाएको छु र’ भन्दै पुरुषत्व प्रदर्शन गर्ने परिपाटी छ । ‘पोथी बास्यो भने अशुभ हुन्छ’ भन्ने भनाइले महिलाको सहभागिता र सक्रियतालाई बन्धक पार्ने काम गर्छ । यी र यस्ता प्रयोगले लैङ्गिक विभेदलाई निरन्तरता दिएको छ । महिलालाई सार्वजनिक सरोकारका विषयमा मौन रहन तथा ‘एजेन्सी’ नभएका र प्रतिरोध गर्न नसक्ने समूहका रूपमा चित्रण गर्नमात्र उखान–टुक्का प्रचलित गराइएको छैन, यौनिकतालाई लिएर भद्दा र अपाच्य भनाइहरू स्थापित गराइएका छन् । आजकल त ‘वाइफाइ’ र ‘वाइफ’ कोभर हुन्न जस्ता टुक्का बनाएर महिलालाई होच्याउने गरिन्छ । भाषाको नयाँ–नयाँ प्रयोगमा एउटा वर्ग र व्यक्तिले अर्कोलाई अपमान गर्ने दाउहरू खोजेकोस्पष्ट देखिन्छ ।
त्यस्तै ‘बडी सेमिङ’ अर्थात् शारीरिक मोटोपन या दुब्लोपन र सुन्दरतालाई लिएर गरिने नकारात्मक टिप्पणी पनि उत्तिकै छ । यसबारे सामाजिक सञ्जाल र भेटघाटका क्रममा चर्चा भइरन्छ । जस्तै– काठमाडौँको न्युरोडमा दुई साताअघि बाइक पार्क गर्दैगर्दा एक अधबैंसे उमेरका पुरुषले अर्का २० वर्ष जतिका युवकलाई ‘ए मोटे भाइ’ भनी बोलाए । उक्त युवकलाई ‘मोटे’ भनेको मनपरेन । उनले च्याँठिएर भने, ‘भाइ मात्रै भन्दा हुँदैन, मोटे भन्नुपर्ने ?’ उनीहरू एकअर्कासँग परिचित थिए/थिएनन्, थाहा भएन । तर शारीरिक बनोटका आधारमा सम्बोधन गर्ने अभ्यासलाई ठाडै चुनौती दिने अभ्यास सार्वजनिक स्थलमै देखिन थालेको उदाहरण हो । यसलाई पुष्टि गर्ने अर्को दृष्टान्त साना बालबालिका जो अचेल सानैदेखि शारीरिक बनोटका आधारमा सम्बोधन गरिएमा तुरुन्त प्रतिरोध गर्छन् । यस्ता घटना घर, छिमेक, विद्यालयमा प्रशस्त देख्न–सुन्न पाइन्छ ।
अचेल यस्ता विभिन्न ‘ट्याग’ लगाउने परिपाटीलाई धेरजसो ठाउँ र समुदायमा प्रतिरोध हुनथालेको छ । जस्तै– हाल ‘एस्किमो’ लाई अपमानजनक शब्दका रूपमा हेरिन्छ, सट्टामा ‘इन्युएट’ प्रयोग गरिन्छ । मानवशास्त्रमा ‘ट्राइब’ लाई अपमानजनक शब्दका रूपमा लिइन्छ र यसको प्रयोगलाई निरुत्साहित गरिन्छ । शारीरिक अशक्ततासँग सम्बन्धित शब्दावलीहरूमा परिमार्जन हुने क्रम निरन्तर छ । कतिपय सन्दर्भमा सुरुमा अपमानजनक रूपमा प्रयोग गरिएकै शब्दावलीलाई पछि आत्मसात गरेका घटना पनि छन् । उदाहरणका रूपमा समलिंगीलाई बुझाउन प्रयोग गरिने शब्द ‘कोयर’ लाई लिन सकिन्छ ।
नेपालमा पनि केही शब्दले अपमानजनक शब्दलाई प्रतिस्थापन गरेका छन् । विभिन्न आदिवासी र ‘पिछडिएका समुदाय’ लाई बुझाउन प्रयोग गरिएका नयाँ शब्दलाई उदाहरणका रूपमा लिन सकिन्छ । ‘पिछडिएका समुदाय’ लाई तल्लो स्तरको देखाउन प्रयोग गरिने शब्दावली र उखान–टुक्काप्रति प्रतिरोध गर्ने क्रम बढ्दो छ । यस्ता पक्षलाई पश्चिमा व्यक्तिवादी दर्शन, अन्तर्राष्ट्रिय मुद्राकोष र राष्ट्र संघ जस्ता सस्थांहरूका प्रभावको नतिजाका रूपमा मात्र हेर्नु गलत हुन्छ । किनकि भाषा प्रयोगको तरिकाले व्यक्तिको आत्मसम्मान, चिनारी, अस्तित्व र समुदायको समष्टिततासँग सरोकार राख्छ । र यस्ता परिपाटीकोविरोध भएको हाम्रै इतिहास छ ।
अपमानजनक शब्द र वाक्यांश प्रयोगले कुनै व्यक्तिको जीवनयापन, मनोविज्ञान र अवसरप्रतिको पहुँचमा नकारात्मक प्रभाव पर्छ । समुदाय बीचको सद्भावलाई खलल पार्छ भने पक्कै पनि यसमा समयानुकूल परिमार्जन हुन आवश्यक छ । व्यक्ति र समुदायबीच सद्भाव, सम्मान र सहकार्यलाई सुदृढ बनाउन जरुरी छ । नेपालमा प्रतिकारका प्रयासहरू हुँदैछन् । तर प्रतिरोधै गर्नु नपर्नेगरी भाषा प्रयोग गरे उत्तम हुन्थ्यो । भाषा विना संस्कार र संकृतिको पुस्तान्तरण कल्पना गर्न नसकिने भएकाले सबै समुदायको सम्मानजनक अस्तित्वका लागि अपमानजनक उखान–टुक्का, भनाइ, शब्दावली र तुलना गर्ने कुपरम्परा अन्त्य गर्नु अपरिहार्य छ ।

यसका लागि रविन्द्रनाथ ठाकुरले भनेझैँ पहिले ‘साँघुरो घरेलु पर्खालहरू’ लाई

तोड्न सक्नुपर्छ ।
Source:- https://www.kantipurdaily.com/opinion/2019/07/13/156298857373496245.html

No Comments

Our Latest Blog

NEB Result 2076-2077

NEB Result 2076-2077

Free .np Domain

Free .np Domain

Places To Visit in Kailali District

Places To Visit in Kailali District

Places to Visit In Gorkha

Places to Visit In Gorkha

Places to Visit In Chitwan

Places to Visit In Chitwan

Archives